BreastScreen SA acknowledges the Traditional Custodians of Country throughout South Australia, and their continuing connection to land, waters and community. We pay our respect to all First Nations peoples, their cultures and to their Elders, past and present.

Skip to main content
Results
Your breast screen results are usually posted to you within 14 days. Please call us if you haven't received them within 28 days.
Call 13 20 50

BreastScreen SA (स्तन परीक्षण दक्षिण अष्ट्रेलिया) को हो?

BreastScreen SA ले प्राथमिकरूपमा ५० देखि ७४ वर्षका महिलाहरूलाई हरेक दुई वर्षमा निःशुल्क स्तन परीक्षण (स्तन एक्स-रेहरू) उपलब्ध गराउँछ।

स्तन परीक्षणले प्रायः लक्षणहरूको अनुभव गर्नु अघि प्रारम्भिक चरणमै स्तन क्यान्सर पत्ता लगाउन सक्छ। स्तन क्यान्सर जति छिटो पत्ता लाग्छ त्यति नै सजिलै यसलाई उपचार गर्न सकिन्छ।

BreastScreen SA स्तन क्यान्सरको लक्षण नभएका महिलाहरूका लागि राष्ट्रिय स्तन क्यान्सर परीक्षण कार्यक्रम, BreastScreen Australia (स्तन परीक्षण अष्ट्रेलिया) को मान्यता प्राप्त दक्षिण अष्ट्रेलियालीअंग हो र यसले सन् १९८९ देखि सेवाहरू प्रदान गर्दै आएको छ।

स्तन परीक्षण निःशुल्क छ र भेटवार्ता मिलाउनको लागि तपाईंलाई डाक्टरको सिफारिस चाहिँदैन।

के तपाईंलाई स्तन क्यान्सरको निःशुल्क परीक्षणबारे थाहा छ?

स्तन परीक्षण के हो?

स्तन परीक्षण भनेको जस्तै गाँठो, स्तनको मुन्टाबाट पीप निस्कने, वा स्तनमा हुने असाधारण परिवर्तन जस्ता स्तनका कुनै पनि लक्षण नभएका महिलाहरूका लागि गरिने जाँच म्यामोग्राम (स्तनको कम खुराकको एक्स-रे) हो।

म्यामोग्राफी परीक्षणमा हरेक स्तनको कम्तीमा दुई वटा तस्बिरहरू लिईन्छ न् - एउटा माथिबाट र अर्को छेउबाट। पत्ता नलगाइएको स्तन क्यान्सरका लागि यो हालको सबैभन्दा प्रभावकारी परीक्षण विधि हो।

यदि महिलामा स्तनको लक्षण छ भने उनलाई डायगनोस्टिक म्यामोग्रामको (निदान गर्ने परीक्षण) आवश्यकता हुन्छ। डाक्टरहरूलाई लक्षणको मूल्याङ्कन गर्न अनुमति दिन डायग्नोस्टिक म्यामोग्राममा स्तनको थप विस्तृत तस्बिरहरू समावेश हुन्छन्। केही क्यान्सरहरू म्यामोग्राममा देखा पर्दैनन् त्यसैले अन्य विस्तृत परीक्षणहरू आवश्यक हुन सक्छन्।

त्यसैले स्तन परीक्षण लक्षण नदेखिएका महिलाहरूका लागि मात्र उपयुक्त हुन्छ।

स्तन परीक्षण कसले गराउन सक्छ?

BreastScreen SA ले ५० देखि ७४ वर्षका महिलाहरूलाई हरेक २ वर्षमा स्तन परीक्षण गर्नका लागि आमन्त्रण गर्छ। प्रमाणहरूले भन्छन् कि यो उमेर समूहमा नियमित परीक्षण एकदमै प्रभावकारी हुन्छ।

४० देखि ४९ वर्षका र ७५ वर्ष माथिका महिलाहरूले पनि एक निःशुल्क स्तन परीक्षणका लागि भेटवार्ता मिलाउन सक्छन्, तर स्तन परीक्षण उनीहरूका लागि सही भए नभएको निर्णय गर्न आफ्ना डाक्टरसँग कुरा गर्न दृढतापूर्वक प्रोत्साहित गरिन्छ।

स्तन परीक्षण ४० वर्षको उमेर मुनिका महिलाहरूका लागि प्रभावकारी परीक्षण विधि होइन। स्तन क्यान्सर जुनसुकै उमेरमा हुन सक्ने भएता पनि ४० वर्ष मुनिका महिलाहरूमा धेरै कम मात्रामा हुन्छ।

स्तन क्यान्सरको कडा पारिवारिक इतिहास भएका महिलाहरूले ४० वर्षको उमेरदेखि हरेक वर्ष स्तन परीक्षण गराउन सक्छन्।

विभिन्न उमेर समूहहरूका लागि परीक्षण र कडा पारिवारिक इतिहास सम्बन्धी जानकारीका लागि यहाँ हेर्नुहोस्।

के BreastScreen SA तपाईंको लागि सही छ?

केही महिलाहरूलाई विभिन्न हेरचाह र सेवाहरू आवश्यक पर्न सक्छन् जुन परीक्षणको हिस्सा हुँदैनन्।

यसमा निम्न महिलाहरू पर्छन् जसको:

  • स्तनको लक्षण छ (जस्तै गाँठो, स्तनको मुन्टाबाट पीप निस्कने वा उनीहरूको स्तनमा हुने परिवर्तन)
  • स्तन र/वा गर्भाशयको क्यान्सर भएको कडा पारिवारिक इतिहास छ
  • विगतको पाँच वर्षमा पहिले नै स्तन क्यान्सरको निदान गरिएको छ
  • शरीरको माथिल्लो भाग चलाउन कठिनाई छ वा आफ्नो वजन सम्हाल्न वा थेग्न गाह्रो छ।

तपाईंले सबैभन्दा उपयुक्त हेरचाह र सेवा प्राप्त गर्नुभएको निश्चित गर्नका लागि तपाईंको डाक्टरसँग कुरा गर्नुहोस् वा BreastScreen SA लाई 13 20 50 मा फोन गर्नुहोस्।

स्तन परीक्षणको भेटवार्ता मिलाउन म कहाँ जानुपर्छ?

BreastScreen SA सँग एडिलेड महानगरपालिका क्षेत्रमा सात वटा स्थिर क्लिनिकहरू छन् र तीन वटा घुम्ती परीक्षण एकाइहरू छन् जसले ग्रामीण, सुदूर, बाह्य महानगरपालिका तथा केही महानगरपालिका क्षेत्रमा हरेक दुई वर्षमा भ्रमण गर्छन्। यस पुस्तिकाको पछाडिको पृष्ठमा हाम्रा स्थिर क्लिनिकहरूको स्थानको बारेमा जानकारी छ र स्थानहरूको विस्तृत सूची यहाँ प्राप्त गर्न सकिन्छ।

BreastScreen SA सँग मैले कसरी भेटवार्ता मिलाउनुपर्छ?

तपाईंले BreastScreen SA लाई 13 20 50 नम्बरमा फोन गरेर भेट्ने समय बिहान ८.३० देखि साँझ ५ बजेसम्म मिलाउन सक्नुहुन्छ। कृपया याद गर्नुस् कि तपाईंले समय मिलाउने बेला हामीले केही व्यक्तिगत स्वास्थ्य सम्बन्धी प्रश्नहरू सोध्नुपर्छ, त्यसैले तपाईंले फोन गरेर उत्तर दिने बेलामा तपाईंसँग समय तथा गोप्यता कायम हुने अवस्था भएको निश्चित गर्नुहोस्।

वैकल्पिक रूपमा, तपाईंले यहाँ अनलाइन बुकिङ्ग गर्न सक्नुहुन्छ

मेरो भेटवार्तामा के हुनेछ?

कृपया तपाईंको भेट्ने समयभन्दा १० मिनेट अगावै आइपुग्नुहोस् ताकि तपाईंसँग मञ्जुरी फाराम भर्न र प्रश्नहरू सोध्नका लागि प्रशस्त समय होस्। कृपया आफूसँग मेडिकेयर कार्ड पनि साथमा ल्याउन याद गर्नुहोस्।

सबै सूचना सही छन् र हामीले सही व्यक्तिको परीक्षण गरिरहेका छौँ भनी निश्चित गर्न हाम्रा एक मित्रवत रिसेप्शनिस्टले तपाईंको पूरा नाम, जन्म मिति र ठेगाना विवरणहरू तपाईंसँग जाँच गर्नेछन्। त्यसपछि एक विशेषज्ञ महिला रेडियोग्राफरले तपाईंलाई परीक्षण कक्षमा लैजाने छिन् र तपाईंले कम्मर भन्दा माथिको कपडा हटाउनु पर्नेछ। तपाईंले चाहनुभएमा आफ्नो शर्ट वा स्वेटरले काँध ढाक्न पनि सक्नुहुन्छ वा अनुरोध गर्नुभएमा प्रयोग गरेर फ्याँक्न मिल्ने गाउन पनि उपलब्ध गराउन सकिन्छ।

तपाईं तयार भएपछि रेडियोग्राफरले एक पटकमा एउटा स्तनलाई म्यामोग्राफर मेसिनमा राख्नेछिन्। मेसिनले तस्बिर लिनका लागि कडासँग तपाईंको स्तनलाई १०-१५ सेकेन्डसम्म थिच्नेछ। प्रायः हरेक स्तनको दुईटा तस्बिरहरू लिइन्छ- एउटा माथिबाट र अर्को छेउबाट। सबै स्तन तन्तुहरू देखिनका लागि ठूला स्तन भएका महिलाहरूको अरू थप तस्बिरहरू लिनुपर्ने हुन सक्छ। एकपटक तपाईंको तस्बिरहरू लिइसकेपछि तपाईंले लुगा लगाउन सक्नुहुन्छ र तपाईंको भेटवार्ता सकिनेछ।

तपाईंको तस्बिरहरूलाई भेटवार्तामा हेरिने छैन। तपाईंको म्यामोग्राम गर्ने रेडियोग्राफरले तपाईको तस्बिरको प्राविधिक गुणस्तरको जाँच गर्नेछिन्। त्यसपछि तपाईंको तस्बिरहरूलाई एडिलेडमा रहेको राज्य समन्वय एकाइ (State Coordination Unit) मा पठाइन्छ जहाँ ती तस्बिरहरूलाई कम्तीमा दुई विशेषज्ञ रेडियोलोजिस्टहरूद्वारा जाँच गरिन्छ।

के स्तन परीक्षण गर्दा दुख्छ?

धेरै महिलाहरू स्तन परीक्षण पीडादायी हुन्छ कि भनेर चिन्तित हुन्छन्। वास्तवमा हरेक महिला फरक हुन्छन्। केहीले यो असहज हुन्छ भन्छन्, केहीले अलिकति पीडादायक हुन्छ भन्छन् र अन्य महिलाले यो पूर्णतया ठीक भएको महसुस गर्छन्। यदि तपाईंले केही असहज महसुस गर्नुहुन्छ भने यो क्षणिक मात्र हुन्छ। यो यसकारणले हुन्छ कि तपाईंको स्तनको स्पष्ट तस्बिर लिन स्तनलाई जोडले एक्सरे मेसिनमा थिच्नुपर्ने हुन्छ। यदि तपाईंले एकदम पीडादायक महसुस गर्नुहुन्छ भने यस कार्यविधिलाई कुनै पनि समयमा रोक्न सक्नुहुन्छ। तपाईंलाई यसबारे चिन्ता छ भने कृपया भेटवार्तामा रेडियोग्राफरसँग कुरा गर्नुहोस्।

के विकिरण (रेडियसन) को जोखिम हुन्छ?

तपाईंले हरेक पल्ट म्यामोग्राम गर्दा निकै सानो खुराकको विकिरण तपाईंमा उजागर हुन्छ। म्यामोग्राफी एकाइहरूले उच्चतम गुणस्तरीय तस्बिर लिनका लागि सम्भव भएसम्म सानो खुराकको विकिरण प्रयोग गर्छन्। यो खुराक मानिसहरूले गर्ने अन्य सामान्य एक्स-रेमा जस्तै हुन्छ र स्तनलाई थिचेर झन् कम गराइन्छ। अनुसन्धानले देखाउँछ कि स्तन परीक्षणको फाइदाहरू विकिरणको जोखिमहरू भन्दा धेरै हुन्छन्।

मेरा नतीजाहरूको निर्णय कसरी गरिन्छन्?

तपाईंको स्तन परीक्षण पश्चात्, तपाईंका तस्बिरहरूलाई कम्तीमा दुई स्वतन्त्र रेडियोलोजिस्टहरूले हेर्नेछन्। उनीहरूले पत्ता लगाएको आधारमा तपाईंलाई कुनै एक परिणाम प्रदान गरिनेछः कि “स्तन क्यान्सरको कुनै प्रमाण नभएको” वा “थप परीक्षणका लागि पुनः बोलाउने”।

तपाईंको परिणामहरू तपाईं तथा तपाईंको मनोनीत डाक्टरलाई प्रायः हुलाकद्वारा भेटवार्ताको १४ दिनभित्र पठाइनेछ। यस परीक्षणले स्तन क्यान्सरमात्र हेर्ने हुनाले अन्य गैर-क्यान्सरजन्य (क्यान्सरको जोखिम नभएका) परिवर्तनलाई प्रतिवेदन गर्दैन।

मैले थप परीक्षण गर्नुपर्ने भएमा के गर्ने?

परीक्षण गरिएका लगभग ५% महिलाहरूलाई थप परीक्षणहरू गर्नका लागि BreastScreen SA मा पुनः बोलाइनेछ। यसको अर्थ तपाईंलाई स्तन क्यान्सर भएको भन्ने होइन तर यकिन गर्नका लागि कहिलेकाहीँ धेरै परीक्षणहरू गर्नुपर्ने हुन्छ। पहिलो पटक स्तन परीक्षण गर्ने महिलाहरूको लागि प्रायः यस्तो हुन्छ किनकि परीक्षण तुलना गर्नका लागि कुनै अघिल्लो म्यामोग्राम तस्बिरहरू हुँदैनन्। तपाईंको पहिलो म्यामोग्राममा असामान्य देखिन सक्ने केही कुरा पूर्णरूपमा सामान्य हुन सक्छ।

महिलाहरूलाई हाम्रा एडिलेडमा रहेको हाम्रो समर्पित मूल्याङ्कन क्लिनिक (Assessment Clinic) मा फेरि बोलाइन्छन्, जहाँ उनीहरूले परीक्षणहरू गर्नेछन् जसमा थप विस्तृत म्यामोग्राफी, अल्ट्रासाउण्ड, नैदानिक स्तन जाँच र केही मामलामा बायोप्सी समावेश हुन सक्छ। यो एकदमै चिन्ताजनक अनुभव हुन सक्छ तर हाम्रा पेशेवर स्वास्थ्यकर्मीहरूको विशेषज्ञ टोलीले तपाईंको परीक्षणको समयमा तपाईंलाई सकेसम्म सहज अनुभव गर्नुभएको सुनिश्चित गर्नेछन्।

धेरैजसो महिलाहरू जसले थप परीक्षणहरू गर्छन् उनीहरूलाई स्तन क्यान्सर नभएको आश्वासन दिइन्छ। त्यसपछि उनीहरूलाई अर्को पटक गरिनुपर्ने स्तन परीक्षणका लागि पुनः बोलाइन्छ जुन जाँच गर्नुपर्ने बेला भएपछि हुन्छ।

यदि मलाई स्तन क्यान्सर छ भने के हुन्छ?

मूल्याङ्कन क्लिनिकको भेटवार्ता पश्चात् थोरै संख्याका महिलाहरूले (परीक्षण गरिएका सबैमध्ये १% भन्दा कम दक्षिण अष्ट्रेलियाली महिलाले) स्तन क्यान्सर निदान प्राप्त गर्नेछन्। हाम्रा पेशेवर स्वास्थ्यकर्मीहरूको विशेषज्ञ टोलीले यस प्रकृयामा तपाईंलाई मार्गदर्शन दिनेछन् र यसपछि अब के हुन्छ भन्ने व्याख्या गर्नेछन्।

BreastScreen SA ले महिलाहरूलाई स्तन क्यान्सरको लागि उपचार नगरेतापनि हामी तपाईंको डाक्टरलाई सम्पर्क गरेर तपाईंको भविष्यका हेरचाह आवश्यकतालाई बन्दोबस्त गर्न मद्दत गर्नेछौँ। तपाईंको डाक्टरले तपाईंको विशेषज्ञको सिफारिसहरू, उपचार र पुन: कुराकानी विकल्पहरूका बारेमा तपाईंसँग छलफल गर्नेछन्।

स्तन क्यान्सरका बारेमा थप जानकारीका लागि तपाईंले Cancer Australia को वेबसाइट हेर्न सक्नुहुन्छ।

स्तन क्यान्सरका लागि जोखिम कारकहरू के हुन्?

स्तन क्यान्सर विकासको तपाईंको व्यक्तिगत जोखिमलाई बढाउने थुप्रै कारकहरू हुन्छन्। यसमा व्यक्तिगत कारकहरू जस्तै महिला हुनु, तपाईंको उमेर, तपाईंमा स्तन क्यान्सरको अघिल्लो निदान, तपाईंको व्यक्तिगत स्तन घनत्व र तपाईंको परिवारको इतिहास समावेश छन्। साथै जीवनशैली जस्तै खानपान, तपाईंले गर्ने व्यायामको मात्रा, तपाईं धूमपान गर्नुहुन्छ कि हुँदैन वा मदिरा पिउनुहुन्छ कि हुँदैन जस्ता कारकहरू पर्छन्। यदि तपाईं आफ्नो जोखिमको मूल्यांकन गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो डाक्टरसँग कुरा गर्न सक्नुहुन्छ वा www.breastcancerrisk.canceraustralia.gov.au मा रहेको अनलाइन प्रश्नावलिको प्रयोग गर्न सक्नुहुन्छ।

स्तन घनत्व के हो?

महिलाको स्तन दुवै बोसीय तन्तु तथा रेशीय-ग्रन्थीजन्य (fibroglandular) तन्तु (बोसोरहित) बाट बनेको हुन्छ। म्यामोग्राममा बोसीय तन्तु कालो देखिन्छ भने स्तनका बाँकी तन्तु सेतो वा 'घना' देखिन्छ। म्यामोग्राममा रेशीय-ग्रन्थीजन्य तन्तु (सेतो भागहरू) को सापेक्षित मात्रालाई स्तन घनत्व भनिन्छ।

स्तन क्यान्सर पनि म्यामोग्राममा सेतो भाग हरूको रूपमा देखा पर्ने हुँदा उच्च स्तन घनत्वले म्यामोग्राफी परीक्षणको संवेदनशीलतालाई घटाउँछ। यसका बाबजुद म्यामोग्राफी परीक्षण अझै पनि घना स्तन भएका महिलाहरू सहित ५० देखि ७४ वर्षका महिलाहरूमा गरिने जनसंख्यामा आधारित सबैभन्दा उत्तम स्तन क्यान्सर परीक्षण हो।

घना स्तन सामान्य हो जुन ४० वर्षमाथिका ४०% महिलामा हुने गर्छ।

तपाईंको स्तनको घनत्व तपाईंको स्तन परीक्षणको परिणाममा उल्लेख गरिनेछ।

स्तन घनत्वका बारेमा थप जानकारी यहाँ पाउन सकिन्छ।

नियमित स्तन परीक्षण गर्दा के फाइदा हुन्छ?

प्रारम्भिक चरणमै स्तन क्यान्सर पत्ता लाग्छ

२००८ मा गरेको एक स्थानीय अध्ययनले पत्ता लगायो कि ५० देखि ६९ वर्षका दक्षिण अष्ट्रेलियाली महिलाहरू जसले हरेक दुई वर्षमा स्तन परीक्षण गराउँथे, उनीहरूमा स्तन क्यान्सरबाट मृत्यु हुने सम्भावना ४१% सम्म घट्यो।*

कम आक्रामक उपचार

स्तन परीक्षण गराउने हरेक १००० जना महिलामध्ये ६ जनामा मात्र स्तन क्यान्सर पाइनेछ। BreastScreen SA द्वारा पत्ता लगाइएका स्तन क्यान्सरहरू प्रायः साना हुन्छन् जसले गर्दा तिनीहरूको उपचार गर्न सरल र सजिलो हुन्छ। महिलाको समग्र स्वास्थ्य नतिजामा समेत सुधार आएको छ।

आश्वासन

स्तन परीक्षण गर्ने धेरै महिलाले “स्तन क्यान्सरको प्रमाण नभएको” परिणाम प्राप्त गर्नेछन् र उनीहरू आफ्नो स्तन स्वास्थ्य कायम राख्न सक्रिय भएकोमा आश्वस्त रहेको अनुभव गर्नेछन्।

स्तन परीक्षणको सीमितता र जोखिमहरू के हुन्?

म्यामोग्राम परीक्षण हाललाई स्तन क्यान्सरको जाँच गर्ने सबैभन्दा प्रभावकारी तरिका भएतापनि, त्यहाँ केहि सीमितताहरू छन् जसबारे तपाईं सचेत हुनु आवश्यक छ।

स्तन क्यान्सर हुन्छ तर फेला नपर्न सक्छ

म्यामोग्राम परीक्षणले सबै स्तन क्यान्सरहरू पत्ता लगाउन सक्दैन। केही क्यान्सरहरू म्यामोग्राम परीक्षणमा देखिँदैनन् वा म्यामोग्रामहरू बीचको समयमा विकास हुन सक्छन्। म्यामोग्राम परीक्षण गर्दा क्यान्सर पत्ता लाग्न छुट्न सक्ने एक झिनो सम्भावना हुन्छ। यसले स्तन क्यान्सर अग्रिम चरणमा पुगेपछि पत्ता लाग्नेतर्फ डोहोर्‍याउँछ।

स्तन परीक्षण पश्चातको १२ महिनामा ५० देखि ७४ वर्षका १००० महिलाहरू मध्ये १ भन्दा कम महिलामा स्तन क्यान्सर भएको पाइन्छ।

म्यामोग्राम परीक्षणहरूको प्रभावकारितामा योगदान पुर्‍याउने अन्य कारकहरूमा महिलाको उमेर तथा उनको व्यक्तिगत स्तन घनत्व समावेश हुन सक्छन्।

स्तन क्यान्सर भएको पाइन्छ र अनावश्यक रूपमा उपचार गरिन्छ (अत्यधिक निदान)

स्तन परीक्षणले सम्भावितरूपमा जीवनलाई जोखिम नपुर्‍याउने स्तन क्यान्सर समेत पत्ता लगाउन सक्छ। यसको मतलब एउटी महिलाले आफूलाई कदापि जोखिमपूर्ण नहुने क्यान्सरको उपचार गर्ने विकल्प रोज्न सक्छिन्, तथापि सो उपचार स्वयं चाहिं उनका लागि जोखिमपूर्ण हुन सक्छ।

कुन स्तन क्यान्सर जीवन जोखिम पुर्‍याउने हुन्छ वा कुन चाहिँ हुँदैन भनेर ठ्याक्कै भन्न अहिलेसम्म सम्भव छैन।

थप परीक्षणहरू गरिन्छन्, तर स्तन क्यान्सर पत्ता लाग्दैन

यदि तपाईंको म्यामोग्राम परीक्षणमा तपाईंको स्तनको तन्तुमा चिन्ता गर्नुपर्ने कुरा वा परिवर्तन भेटिएमा थप परीक्षणहरुका लागि तपाईंलाई BreastScreen SA को मूल्याङ्कन क्लिनिकमा पुनः बोलाइन्छ। ती परीक्षणहरूमा थप म्यामोग्राफी अल्ट्रासाउण्ड र सम्भावितरूपमा नैदानिक स्तन परीक्षण वा बायोप्सी पर्छन्। यो महिलाहरूका लागि चिन्ताजनक समय हो भएतापनि धेरैजसो उनीहरूलाई स्तन क्यान्सर नभएको आश्वासन दिइन्छ।

स्तन चेतना किन महत्वपूर्ण हुन्छ?

तपाईंले हरेक दुई वर्षमा स्तन परीक्षण गर्ने गर्नु भएतापनि स्तन सचेत हुन महत्वपूर्ण हुन्छ किनकि स्तन क्यान्सर कुनै पनि बेलामा विकास हुन सक्छ। यो तपाईंको स्तन परीक्षण भेटवार्ता बीचको समयको दौरान पनि हुन सक्छ।

आफ्नो स्तनको सामान्य स्वरूप तथा अनुभवलाई थाहा पाउनु महत्वपूर्ण हुन्छ। तपाईंले निम्न कुराहरू हेर्नुपर्ने हुन्छ:

  • आफ्ना स्तन हरूमा नयाँ गाँठो वा गाँठोजस्तो बनावट, विशेषगरी एक स्तनमा मात्र यस्तो हुने
  • तपाईंको स्तनको आकार र बनावटमा परिवर्तन
  • स्तनको मुन्टामा परिवर्तन जस्तै पाप्रो निस्किने, घाउ, रातोपन वा भित्र छिरेको जस्तो
  • स्तनको मुन्टालाई ननिचोर्दा समेत त्यहाँबाट पींपजस्तो पदार्थ निस्किने
  • तपाईंको स्तनको छालामा परिवर्तन जस्तै रातोपन वा खाल्डो पर्ने वा चाउरी पर्ने
  • निको नहुने खालको पीडा।

धेरै स्तन परिवर्तनहरू स्तन क्यान्सरका कारणले नहुन सक्छन् तर निश्चित गर्नका लागि तपाईंले परीक्षण गराउनुपर्छ। तपाईंको पछिल्लो म्यामोग्राम नतिजा सामान्य भएतापनि यदि तपाईंले स्तनहरूको स्वरूप वा अनुभवमा परिवर्तन पाउनुभयो भने, आफ्नो डाक्टरलाई तुरन्तै भेट्नुहोस्।

तपाईंको परीक्षणलाई अझ सजिलो तथा सहज बनाउने व्यावहारिक उपायहरू

तपाईंको स्तन परीक्षणलाई प्रभाव पार्न सक्ने भएकोले कृपया परीक्षणको दिनमा टाल्कम पाउडर वा डिओडरेन्ट नलगाउनुहोस्।

  • दुई टुक्रे (टु-पीस) वस्त्र लगाउनुस् किनकि स्तन परीक्षणको समयमा तपाईंले ब्रा र माथिको लुगा फुकाल्नु पर्ने हुन्छ।
  • भेटवार्तामा कृपया आफ्नो मेडिकेयर कार्ड (Medicare Card) का साथै पुरा भरिएको र हस्ताक्षर गरिएको मञ्जुरी फाराम पनि ल्याउन नभुल्नुहोस्।
  • तपाईंको कागजी प्रकृया पुरा गर्न तपाईंको भेटवार्ताको समयभन्दा कृपया १० मिनेट अगावै आइपुग्नुहोस्।
  • यदि तपाईंले अन्यत्रै म्यामोग्राम गराउनु भएको थियो भने कृपया भेटवार्ताको समय मिलाउने बेलामा हाम्रो कर्मचारीलाई बताउनुहोस्।
  • यदि तपाईंसँग कुनै प्रश्न भए कृपया हाम्रा मिलनसार कर्मचारीसँग सोध्नुहोस्।

उपयोगी लिंकहरू, स्रोतहरू तथा थप अध्ययनका लागि

Cancer Australia (क्यान्सर अष्ट्रेलिया)

www.canceraustralia.gov.au

Breast cancer risk calculator (स्तन क्यान्सर जोखिम क्यालकुलेटर)

breastcancerrisk.canceraustralia.gov.au

Australian Institute of Health and Welfare (स्वास्थ्य र कल्याणको अष्ट्रेलियाली संस्थान)

www.aihw.gov.au

भेटवार्ता कसरी मिलाउने

13 20 50 मा फोन गर्नुहोस् वा यहाँ अनलाइन बुकिङ्ग गर्नुहोस्

डाक्टरको सिफारिसको आवश्यकता पर्दैन।

निःशुल्क दोभाषे सेवा उपलब्ध छ तथा ह्वीलचेयर पहुँच हुन्छ।

BreastScreen SA क्लिनिकका स्थानहरू

घुम्ती परीक्षण काइहरू

हाम्रा तीन घुम्ती परीक्षण एकाइहरूले ग्रामीण, सुदूर, महानगरपालिका तथा बाह्य महानगरपालिका क्षेत्रहरूको हरेक दुई वर्षमा भ्रमण गर्छन्। कृपया स्थानहरू तथा भ्रमण विवरणहरू हेर्न हाम्रो वेबसाइटमा हेर्नुहोस्।